FAQs Complain Problems

गाउँपालिकाकाे परिचय

हिमाली गाउँपालिका सुदुरपश्चिम प्रदेश अन्तरगत बाजुरा जिल्लामा अवस्थित उच्च पहाडी विशेषता बोकेको गाउँपालिका हो । नेपाल मानव विकास प्रतिवेदनले सबैभन्दा कम मानविय विकासको अवस्था रहेको बाजुरा जिल्लाको पनि दुर्गम क्षेत्रको रुपमा यस गाउँपालिका पर्दछ । यो गाउँपालिका साविक विच्छ्याँ, रुगीन र बाँधु गाविस मिलेर हाल ७ वटा वडाहरू बनेको छ । बाजुरा जिल्लाको जिल्ला सदरमुकाम मार्तडीबाट करिब ७५ किमि टाढा उत्तर पूर्वी दिशामा रहेको हिमाली गाउँपालिकाको कूल क्षेत्रफल ८३०.३४ वर्ग किमि रहेको छ । समुन्द्री सतहदेखि करिब १२०० मिटर देखि ६४०० मिटर सम्मको उचाईमा रहेको छ । गाउँपालिका भौगोगिक अवस्थितिका हिसाबले हेर्दा  २९ डिग्री २८ मिनेट ५० सेकेन्ड देखि २९ डिग्री ५७ मिनेट १० सेकेन्ड उत्तरी अक्षांश र ८१ डिग्री २९ मिनेट ४० सेकेन्ड देखि ८१ डिग्री ४७ मिनेट ४० सेकेन्ड पूर्वी देशान्तरमा फैलिएको  यस गाउँपालिकाको सिमाना पूर्वमा मुगु जिल्ला, पश्चिममा बझाङ्ग जिल्ला, उत्तरमा हुम्ला जिल्ला र दक्षिणमा वुढीनन्दा नगरपालिका अवस्थित रहेको छ ।

हिमाली गाउँपालिकाको धरातलीय दृष्टिले विविधतापूर्ण रहेको छ । उच्च पर्वतीय क्षेत्र अन्तरगतका हिमाली क्षेत्र, अग्ला पहाड, नदि तटिय समथर भूमि र उच्च तथा मध्यम झुकावका पहाडहरु रहेका छन् । उच्च पहाडका माथिल्लो क्षेत्रमा कडा चट्टानी पहाड रहेको छ । अधिकांश क्षेत्र उच्च पर्वतिय श्रृंखला रहेका यस क्षेत्रमा भूक्षयको समेत प्रकोप रहने गरेको छ । हुम्ला कर्णाली नदि तटिय क्षेत्रको समशितोष्ण हावापानी र उच्च पर्वतिय क्षेत्र देखि हिमाली क्षेत्रको ठण्डा हावापानी समेत यस गाउँपालिकामा पर्दछ । नदिनाला, बन, सुख्खा भिराला चट्टानी पाखा, चरण क्षेत्र, नदि तटीय एवं उच्च पहाडका काखमा रहेको सिमित खेतीयोग्य जमिन यस क्षेत्रका प्राकृतिक सम्पदाहरु हुन् । मुख्य नदिका रुपमा कर्णाली रहेको छ भने अन्य स्थानीय खोलानालाहरु कुवाडी खोला, विच्छया खोला, सिउरेनी खोला, सिम पानी खोला, तिरतिर खोला, नाती खोला, सिरसिरे खोला, सानिगाड, गोलेगाड, घट्यागाड, च्याखोला, सुप खोला, नेती खोला र चुली गाड खोला  लगायतका सहायक नदि तथा खोलाहरू रहेको छन् । जैविक विविधताका हिसावले उच्च पर्वतीय चिसो हावापानीमा पाइने वनस्पतिहरूमा जटामासी, हातजडी, सुगन्धवाल, पदमचाल्नु, सतुवा, अतिस, चिराईतो, लेपलाई, च्याउ, गुच्ची च्याऊ, वनलसुन, विसरा, तारा चुक, गधाल्नु, काकरसिलो र कालोजिरा पर्दछन । चराचुरुगी तथा जनावरहरुमा कालिज, डाँफे, कस्तुरी, थार, बनेल, भालु, घोरल, च्याखुरा, मुनाल, भ्याकुर, झारल, रेडपाण्डा, रतुवा मुख्य रुपमा रहेका छन् । पहाडको माथिल्लो भागको अधिकांस स्थानमा वन तथा खर्कहरू रहेका छन् । हिमाली गाउँपालिकाको कुल क्षेत्रफलकाे सबैभन्दा बढी २९.२२ प्रतिशत वन क्षेत्र र २९.०७ प्रतिशत घाँसे मैदानले ओगटेकोे छ । अत्यन्त न्यून परिमाणमा रहेको  खेतीयोग्य जमिनले कूल भुभागको २.०५ प्रतिशत क्षेत्र मात्र रहेको छ ।

राष्ट्रिय जनगणना २०६८ का अनसार गाउँपालिकाको जनसंख्या ९२१४ थियो भने घरपरिवार सर्वेक्षण २०७५ अनुसार यहाँको धरधुरी जम्मा १८९३ मा जनसंख्या ११२५३ रहेको छ । सर्वेक्षण अनुसार सबैभन्दा उच्च जनसंख्या वडा नं. ६ मा ३३५९ रहेको छ भने सबै भन्दा न्यून वडा नंं. ३ मा ९७४ रहेको देखिन्छ । जस अनुसार हालको औषत घरपरिवारको आकार ६.०१ जना र लैंगिक अनुपात ११०.०६ रहेकोे छ ।  गाउँपालिकाको कूल क्षेत्रफल ८३०.३४ वकिमी क्षेत्रमा ११२५३ जनसंख्याको बसोबास रहेको छ भने गाउँपालिकाको जनघनत्व ३९.१४ जना प्रति वकिमी रहेको छ । वडागत रुपमा जनघनत्व हेर्दा सबैभन्दा कम क्षेत्रफल रहेको वडा नंं. ४ को  जनघनत्व ६८.९८ जना प्रति वकिमीे र सबैभन्दा बढी क्षेत्रफल रहेको वडा नं. ३ को जनघनत्व २ जना प्रति वकिमी रहेको छ ।